भ्रष्टाचार विरोधी भनेर चर्चा पाएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले ४५ लाख कमिसन मागेको आरोप लागेको छ। नेकपा इटहरीका नेता तथा इटहरी साना शहरी तथा खानेपानी आयोजनाका अध्यक्ष रामप्रसाद चौलागाईंले मेयर चौधरीले चुनाव र छोराको विवाहको ऋण तिर्न ४५ लाख रुपैँया मागेको खुलासा गरेका छन्।
लामो समयदेखि उनै चौलागाईंविरुद्ध कडा अभिव्यक्ति दिँदै आएका मेयर चौधरीले उनैलाई भ्रष्टाचारको आरोप लगाएका थिए। खानेपानीमा भ्रष्टाचार गरेको भन्दै चौलागाईंलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए।
उनै मेयर चौधरीले नगर प्रहरी खटाएर चौलागाईंलाई पक्राउ गर्न लगाएका थिए। बिहान १० बजेदेखि परिचालित नगर प्रहरीले दिनभरि चौलागाईंलाई खोजेको थियो।
नेकपा नेता माधवकुमार नेपाल आउने कार्यक्रममा पनि चौलागाईं पुग्न सक्ने भन्दै नगर प्रहरीलाई त्यतै पठाए।
चौलागाईंले पैनी मिचेर घर बनाएको भन्दै कि घर भत्काउनुपर्ने नभए वडा कार्यालय राख्ने चौधरीको भनाइ छ।
उता चौलागाईंले फेसबुकमार्फत कमिसन नदिएर मेयर चौधरी आफूमाथि जाइ लागेको आरोप लगाएका छन्।
‘यो सब खानेपानीको लागि ३ ठाउँ १७, १६ र १० नम्बर वडामा जग्गा किन्दा ४५ लाख रकम माग्नुभयो, चुनावको ऋण र छोराको विवाहको ऋण तिर्नुछ ४५ लाख दे भन्नुभयो। तर यो मबाट सम्भव छैन भनेसी मैले तेरो कारणले ३ कट्ठा जग्गा ७२ लाखमा बेचें ऋण तिरें अब म देखाइदिन्छु। मेयर चौधरीले गत जेष्ठ २ गते काठमाडौँको अनामनगरमा तँ बाहुन अब मेयर कसरी बन्छस् भन्दै हप्काएर उक्त अवस्था आयो।’ उनले फेसबुक स्टाटसमार्फत लेखेका छन्।