काठमाडौं– बालुवाटार जग्गा प्रकरणमा पूर्वमन्त्री एवं पूर्व कांग्रेस नेता जयप्रकाश प्रसाद ‘जेपी’ गुप्ताको प्रतिक्रिया आएको छ। गुप्ताले कांग्रेसभित्र आफ्नै साथीलाई फसाउने खेल हुने गरेको र कम्युनिष्टहरुले अपराधी मित्रलाई समेत जोगाउने गरेको टिप्पणी गरेका छन्।
ललिता निवास सम्बन्धी अख्तियारले दायर गरेको मुद्दाबारे ट्वीट गर्दै गुप्ताले भनेका छन्, ‘पञ्चतन्त्र’को शिक्षा जे भएपनि नेपाली ‘राज्यतन्त्र’ले दिएको शिक्षा भने ‘कांंग्रेसले आफ्नो साथीलाई नै फसाउँछ, कम्युनिष्ट भने आफ्ना अपराधी मित्रलाई पनि जोगाउँछ’ नै हो।’
गुप्ताले अख्तियारको स्वेच्छाचारिताका विषयमा पनि बोलेका छन्। ‘मैले बुझेसम्म मन्त्रिपरिषद्ले १) नीतिगत, २) कानुनबाट प्रत्यायोजित विषयमा मात्र निर्णय गर्ने गर्दछ । ३) ललिता निवास जग्गा प्रकरणको निर्णय कुन आधारमा मन्त्रिपरिषद्को नीतिगत निर्णयको दायरामा पर्छ ? अख्तियार ऐनमा रहेको क्षेत्राधिकारको प्रसंगको व्याख्या उ स्वयंको स्वेच्छाचारि परिभाषाको विषय हुनसक्छ र ?’ उनले लेखेका छन्।
कांग्रेस नेता खुमबहादुर खड्कालाई मुद्दा लगाइँदा माछाभातको भोज गर्ने कांग्रेसहरुमाथि पनि गुप्ताले प्रहार गरेका छन्। ‘समय बदलिएको हो, कि मन नपरेको छिमेकीलाई खाने बाघ आफ्नो दैलोमा आइपुगेको हो ? खुमबहादुर खड्काको मुद्दामा ‘माछाभात’ खाने नेतृत्व ‘अख्तियारलाई उसको काम गर्न दिनुपर्छ’ भनेको ठाउँमा अब ‘बदनियतपूर्ण’ देख्न थालेछ।’
गुप्ता मन्त्री छँदा नै जेल जानुपरेको थियो। पञ्चायतकालमा उनीमाथि लागेको भ्रष्टाचार मुद्दामा उनी कैद भुक्तान गरिसकेका छन्। उनको मुद्दा पुनरवलोकनका लागि सर्वोच्च अदालतमा रहेको छ।