ठूला जहाजहरू उडान गर्न मिल्ने गरी सरकारले तराईका विमानस्थल विस्तारको कामलाई अघि बढाएको छ ।
विराटनगर, नेपालगञ्ज, धनगढीका साथै जनकपुर र भरतपुर विमानस्थलबाट बोइङ र एयरबस उडान र अवतरण गर्न मिल्ने गरी सरकारले निर्माणको प्रक्रिया अघि बढाएको हो ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार तराईका प्रमुख विमानस्थलहरूको गुरुयोजना निर्माण गरी ठूला जहाज उडान गर्न मिल्ने गरी विस्तारको प्रक्रिया अघि बढाइएको हो ।
अहिले विराटनगर, नेपालगञ्जको राझ र चन्द्रगढी विमानस्थलको गुरुयोजना तयार भइसकेको छ । त्यसैगरी धनगढी विमानस्थलको गुरुयोजना अन्तिम चरणमा पुगेको छ ।
१ हजार ५०५ मिटर लामो धावनमार्ग रहेको विराटनगर विमानस्थलको धावन मार्ग विस्तार गरी ३ हजार पुर्याउने योजना छ । गुरुयोजना अनुसार विराटनगर विमानस्थलको काम पूरा गर्नका लागि थप १२६ बिघा जग्गा अधिग्रहण गर्नुपर्दछ । जग्गा अधिग्रहणका लागि प्रारम्भिक प्रक्रिया अघि बढाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
गुरुयोजना अनुसार विमानस्थल निर्माण गर्न रु. ४७ अर्ब लाग्ने अनुमान छ । २० वर्षे गुरुयोजनाको पहिलो पाँच वर्षमा ३ हजार मिटर लामो धावन मार्ग सहित ८४० मिटर लामो ट्याक्सी वे बनाउने योजना छ । त्यसका लागि ८ अर्ब खर्च गरिंदै छ । त्यसैगरी नेपालगञ्जको राझ विमानस्थल विस्तारका लागि रु १२ अर्ब लाग्ने अनुमान गरिएको छ ।
१ हजार ६०० मिटर लामो धावन मार्गको विस्तार गरी २ हजार ६ सय ५० मिटर पुर्याउने, टर्मिनल भवन तथा विमानस्थलका अन्य पूर्वाधार निर्माणका कामलाई अघि बढाउने प्राधिकरणले जनाएको छ ।
पहाडी तथा हिमाली जिल्लाका विमानस्थलहरू पनि विस्तार गरी ४२ सिटे क्षमताका एटीआर जहाज उडान र अवतरण गर्न मिल्ने गरी निर्माणका कामलाई अघि बढाइएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए ।
ठूला जहाज उडान गर्दा यात्रुलाई भाडा दर पनि सस्तो हुने र हवाई कम्पनीहरूको व्यवसायलाई पनि फाइदा हुने पोखरेल बताउँछन् ।
प्राधिकरणका अनुसार अहिले देशभरमा ५४ वटा विमानस्थल रहेका छन् । त्यसमध्ये ३२ वटा विमानस्थल मात्र सञ्चालनमा रहेका छन् ।