About Contact
०४ माघ २०७७, आइतबार
Close
बिज्ञापन
‘‘नेपाल भ्रमण वर्ष २०२०” कोरोना भाइरसको असर : चीनको विकल्प खोजी 

खोज केन्द्र मंगलबार, माघ २१, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण चिनियाँ पर्यटकको आगमनमा हुने कमीले नेपाल भ्रमण वर्ष २०२० मा पर्ने असरलाई न्यूनीकरण गर्न चीनको विकल्पको रूपमा मध्यपूर्वका मुलुकहरू र मलेशिया हुनसक्ने  निजीक्षेत्रले बताएको छ । विशेषगरी सन् २०२० मै भ्रमण वर्ष मनाइरहेका मलेशिया र दुबई (यूएई) सँग सहकार्य गरी भ्रमण वर्ष सफल बनाइनुपर्ने तर्क पर्यटन क्षेत्रसँग सम्बद्ध व्यवसायीहरूको छ ।

चिनियाँ पर्यटक आगमनमा असर देखिएपछि नेपाल भ्रमण वर्ष सचिवालयले नयाँ रणनीति तर्जुमा गर्न बोलाएको बैठकमा सरोकारवालाहरूले यस्तो बताएका हुन् । नेपालले जस्तै मलेशिया र दुबईले पनि सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाइरहेकाले उनीहरूसँगको सहकार्यले सुस्ताएको पर्यटन बजार चलायमान हुनसक्ने अपेक्षा पर्यटन व्यवसायीको छ । दुबई र मलेशियाका लागि पनि चीन प्रमुख पर्यटन स्रोत बजार नै हो । पर्यटन क्षेत्रका सरोकारवालाहरूका अनुसार कोरोना भाइरसको संक्रमणका विषयमा नेपालमा आत्तिइहाल्नु पर्ने अवस्था नभए पनि सम्भावित जोखिम न्यूनीकरणको लागि भने चनाखो हुनैपर्ने अवस्था छ ।

नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले कोरोना भाइरस प्रकरण भवितव्य भएकाले यसबाट सचेत रहँदै विकल्पका रूपमा अन्य पर्यटकीय गन्तव्यका बारेमा छलफल शुरू गरिएको बताए । संयोजक वैद्यका अनुसार चीनको विकल्पका रूपमा मध्यपूर्वका देशहरूमा पर्यटकीय गतिविधि केन्द्रित गर्नुपर्ने सुझाव निजीक्षेत्रले दिएको छ । ‘चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार र नजीकको छिमेकी भएकाले यसबारे चासो र चिन्ता बढ्नु स्वाभाविक हो ।

भ्रमण वर्षको सफलताका लागि अन्य गन्तव्यमा नेपाली पर्यटन प्रवर्द्धनतर्फ हामीले सोच्न थालेका छौं,’ उनले बताए ।

प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुरले समस्या समाधानका लागि विपद् व्यवस्थापनको तयारीको साथै नयाँ गन्तव्यका बारेमा पनि सोच्नु आवश्यक भएको बताए । ‘हामीले जस्तै मलेशिया र दुबईले पनि भ्रमण वर्ष मनाइरहेका छन् । ती मुलुकसँग मिलेर त्रिदेशीय संयन्त्र निर्माण गर्न सके यसबाट तीनै मुलुकले फाइदा दिन सक्ने छन् । त्यसका लागि हामीले तत्काल पहल थाल्न जरुरी छ,’ उनले बताए ।

होटल एशोसिएशन नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाह नेपालमा कोरोना भाइरसको प्रभाव अहिले नदेखिएकाले चीनबाहेकका मुलुकबाट पर्यटन ल्याउन पहल गर्नुपर्ने बताउँछन् । उनले सचेतना आवश्यक भए पनि कतिपय अवस्थामा आवश्यकताभन्दा बढी प्रचारले समस्या निम्त्याउने बताए ।

पर्यटन व्यवसायीका अनुसार सरकार र भ्रमण वर्ष सचिवालयले नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश दिन ढिलाइ गर्नु हुँदैन । नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एशोसिएशन (नाटा) का अध्यक्ष अच्युत गुरागाईंले हालसम्म कोरोना भाइरसबाट नेपाल सुरक्षित रहकाले चीनबाहेकका मुलुकमा नेपाल सुरक्षित गन्तव्यकै रूपमा रहेको सन्देश प्रचारप्रसार गर्नुपर्ने बताए । ‘यसो गर्न सके चीनबाट घटेको पर्यटक संख्या अन्य मुलुकबाट पूर्ति गर्न सकिनेछ,’ उनले बताए ।

त्यस्तै, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीको सुझाव छ, ‘पर्यटन बोर्ड र निजीक्षेत्र, दुवैले नेपालसँग हवाई सम्पर्क भएका मुलुकहरूमा पर्यटन प्रवर्द्धनलाई तीव्रता दिनुपर्छ ।’

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार नेपाल आउने चिनियाँ पर्यटकको कुल संख्याको झन्डै ४० प्रतिशत जनवरीदेखि अप्रिलसम्मको ४ महीनामा आउने गर्छन् । तर, सन् २०२० को शुरुआती महीनामै चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपाल आउने चिनियाँ पर्यटकको संख्या करीब १३ प्रतिशतले घटेको छ भने त्यसपछिका महीनाहरूको बुकिङ रद्द हुने क्रम बढ्दो छ ।

नेपालमा पर्यटक आगमनको दोस्रो ठूलो स्रोत बजारको रूपमा रहेको चीनमा कोरोना भाइरस संक्रमण महामारीमा रूपमा फैलँदा त्यहाँबाट चिनियाँ पर्यटकको आगमन पछिल्लो १ सातायता करीब ठप्प प्रायः छ । नेपाल उडान गर्ने चिनियाँ विमान कम्पनीहरूले काठमाडौं उडान स्थगित गरेका छन् भने चीनका पाँच शहरमा उडान गर्ने नेपाली निजीक्षेत्रको हिमालय एयरलाइन्सले तत्कालका लागि चीनका केही गन्तव्यमा उडान बन्द गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
धनुषा : सबैला नगरपालिकामा मेयरकाे एकलौटी बदमासी, जताततै मेयर साहको बिरोध
प्रदेश २: धनुषा, सिरहा र महोत्तरीमा सोलार प्लान्ट बाट ११७ मेगावाट विद्युत्
भारतमा कोरोना भ्याक्सिन लगाउन शुरु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]