About Contact
१९ फाल्गुण २०७७, बुधबार
Close
बिज्ञापन
नेपाललाई भारतीय जलमार्ग उपयोग: कोलकाता महावाणिज्यदूतावासले समन्वय अघि बढायो

खोज केन्द्र सोमबार, माघ २०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले भारतीय भन्सार, बन्दरगाह, सिपिङ कम्पनीलगायतसँग जलमार्गको उपयोगका सम्भाव्यताबारे चरणबद्ध समन्वय अघि बढाएको छ ।

विशेषगरी हल्दिया–कोलकाताबाट साहिबगञ्ज र कालुघाटसम्मको जलमार्ग उपयोगका लागि छलफल अघि बढेको हो । गत नोभेम्बरमा नेपाल भारत पारवहन सन्धि पुनरवलोकन बैठकमा नेपालले यी जलमार्ग उपयोग गर्नेबारेमा प्रोटोकलमा हस्ताक्षर गरेको थियो । यो सहमतिसँगै सम्बद्ध भारतीय निकायसित अन्तरक्रियालाई तीव्र पारिएको कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले बताए ।

जलमार्गबाट हुने ढुवानी तुलनात्मक सस्तो हुने भएपछि समुद्रपार व्यापारमा यसको उपयोगलाई प्राथमिकतामा राखिएको अर्याल बताउँछन् । ‘जलमार्गको सञ्चालन र ढुवानी कम खर्चिलो हुने भएकै कारण नेपालको वैदेशिक व्यापारका लागि यो प्रभावकारी हुने देखिएको छ,’ अर्यालले आर्थिक अभियानलाई बताए, ‘नेपालको व्यापार लागत घटाउन जलमार्ग तुलनात्मक बढी उपयोगी हुन्छ ।’

भारतले जलमार्ग विकास योजनाअन्तर्गत गत वर्षदेखि सञ्चालनमा ल्याइएका जलमार्ग प्रयोगमा समझदारी बनेपछि सरोकारका पक्ष उपयोगका उपायमा केन्द्रित भएका हुन् । यी जलमार्गबाट समुद्रसम्म नेपालको पहुँच थप सहज हुने अपेक्षा गरिएको छ ।

नेपालले प्रस्ताव गरेको साहिबगञ्ज र कालुघाट जलमार्गसँग जोडिएको मल्टिमोडल पोर्ट उपयोग भएमा सडक र रेलमार्गको दूरी छोटिन्छ । लागतका हिसाबले हवाई मार्ग सबैभन्दा खर्चिलो मानिन्छ । नेपालको कुल व्यापारमध्ये १० प्रतिशतमात्र हवाई मार्गबाट ढुवानी हुने अनुमान आयातकर्ताको छ ।

बढी उपयोगमा रहेकामध्ये सडकमार्ग तुलनात्मक बढी खर्चिलो हुन्छ । सडकमार्गको तुलनामा रेलमार्ग कम खर्चिलो भए पनि जलमार्ग सबैभन्दा सस्तो पर्ने अध्ययनले देखाएको महावाणिज्यदूत अर्यालले बताए । ‘ट्रकले एउटा कन्टेनर बोक्दा रेलमार्गबाट कम्तीमा ९० कन्टेनर ओसार्न सकिन्छ । जलमार्गमा त यो संख्या अझ बढी हुन्छ । त्यस आधारमा पनि जलमार्ग सबैभन्दा सस्तो पर्न जान्छ,’ अर्यालले बताए ।

भारतको झारखण्डस्थित साहिबगञ्जबाट नेपालको मुख्य नाका वीरगञ्ज ४८३ किलोमीटर (किमी)को दूरीमा छ । पश्चिम बंगालको कालुघाटबाट ४९२ किमी पर्छ । अहिले कोलकाताबाट ७५० किलोमीटर दूरी तय गरेर कन्टेनर वीरगञ्जसम्म ल्याइन्छ ।

त्यस्तै साहिबगञ्जबाट विराटनगर २५४ किलोमीटर र कालुघाटबाट १७१ किमीमात्र पर्छ ।

सन् २०१९ मा तेस्रो मुलुकबाट १ लाख ७ हजार कन्टेनर आएकोमा त्यसको ६० प्रतिशत कोलकाता बन्दरगाह हुँदै भित्रिएको महावाणिज्य दूतावासले बताएको छ । कोलकाता आएकामध्ये सडक र रेलमार्गबाट बराबर संख्यामा ढुवानी हुन्छन् ।

सरकारले वैदेशिक व्यापारमा जलमार्ग प्रयोगलाई प्रवर्द्धन गर्नु सकारात्मक भएको नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिका अध्यक्ष अशोककुमार टेमानी बताउँछन् । आन्तरिक ढुवानीमा समेत जलमार्ग कम खर्चिलो हुने दाबी टेमानीको छ । ‘नेपालका नदीनालामा मात्र होइन, कृत्रिम जलमार्ग बनाएर पनि यसको उपयोग गर्न सकिन्छ,’ उनले भने, ‘जलमार्गको लागत अहिलेको स्थलमार्गको तुलनामा धेरै कम हुन्छ । तर, सरकारले आन्तरिक जलमार्ग विस्तारलाई त्यति गम्भीर रूपमा लिएको छैन ।’

नेपालले भारतको धाम्रा र मुद्रा बन्दरगाह प्रयोगको समझदारी पनि बनिसकेको छ । अहिले तेस्रो मुलुकसँगको व्यापार कोलकाता, हल्दिया र विशाखापत्तनम् बन्दरगाहबाट हुन्छ । कोलकाता र विशाखापत्तनम्को बीचमा रहेको उडिसा राज्यस्थित धाम्रा बन्दरगाह तुलनात्मक बढी प्रभावकारी हुने बताइएको छ ।

धाम्रा बन्दरगाह कोलकाताको असहज भौगोलिक अवस्था र विशाखापत्तनम्को बढी दूरीको विकल्प बन्न सक्ने आयातकर्ता गणेशप्रसाद लाठ बताउँछन् । गुजरात राज्यस्थित मुद्रा बन्दरगाहबाट नेपालको पश्चिमी क्षेत्रमा ढुवानी सहज हुन सक्छ ।

नेपालले भारतका सबै बन्दरगाह उपयोगको प्रस्ताव राख्नुपर्ने तर्क टेमानीको छ । ‘सबै बन्दरगाहको विकल्प खुला राखिनुपर्छ । यसो भएमा जहाबाँट सहज हुन्छ, त्यहीँबाट मालसामान ल्याउन सकिन्छ । यसले नेपालको व्यापार प्रतिस्पर्धी बनाउन मद्दत मिल्छ ।’

यस्ता सम्भाव्यतालाई जति चाँडो कार्यान्वयनमा लैजान सकियो व्यापार सहजीकरण त्यति नै सहज हुने आयातकर्ता बताउँछन् । ‘जलमार्गको सहजीकरणले वैदेशिक व्यापारमा लागत न्यूनीकरण हुनेछ । तर, यस्ता समझदारीलाई जतिसक्दो चाँडो लागू गर्न सक्नुपर्छ,’ आयातकर्ता प्रदीप केडियाले सुझाए ।

सम्बन्धित

ताजा अपडेट
अख्तियारको छापा प्रति स्थानियको शंका, ८ लाख घुस रकम बरामद, घुस लिने अध्यक्ष फरार
घुस लिदै गर्दा बटेश्वर गाउँपालिकामा अख्तियारको छापा, अध्यक्ष फरार, चालक नियन्त्रणमा
मन्त्री कुशवाहाद्वारा समुदायिक भवन र बाउन्ड्रीवाल निर्माण शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]