‘अहिलेसम्म सत्तापक्षसँग यस विषयमा कुरा भएको छैन। सभामुखको टुंगो लगाउन बाँकी भएकाले सत्तापक्षले पनि छलफल नगरेको होला,’ महतोले भने ‘राजनीतिक पार्टीले पदका लागि दावी गर्नु स्वभाविक हो। हामीले पाउनुपर्छ भन्ने हाम्रो भनाई हो।’
नेकपासँग राष्ट्रिय सभा सदस्यका लागि सहमति हुनु सकरात्मक भएको भन्दै महतोले यसले छलफलको सुरुवात गरेको बताए।
‘हुन त यो निर्वाचनका लागि भएको सहमति हो। उसलाई २ सिट फाइदा हुने भयो, हाम्रो पनि खाली हुन लागेको २ सिट रहने भयो,’ महतोले भने, ‘दुवैलाई बराबर हुने भएपछि हामी मिल्ने अवस्थामा पुग्यौं। किनकि एक्लै निर्वाचनमा जाने अवस्था दुवै पक्षको थिएन।’
कांग्रेसको एक सिट र समाजवादीको खाली एक सिट अब नेकपालाई फाइदा हुने उनको भनाइ छ।
बुधबारको बैठकमा राष्ट्रिय सभाको विषयबाहेक अन्य कुनै छलफल नभएको महतोले स्पष्ट पारेका छन्। प्रदेश २ मा हुने राष्ट्रिय सभाको चुनावमा नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टीबीच एक आपसमा सहयोग गर्ने सहमति भएको छ।
बुधबार बालुवाटारमा बसेको नेकपा र राजपाबीच बैठकमा सो सहमति भएको हो। माघ ९ मा प्रदेश २ मा रिक्त रहेका ४ स्थानमा चुनाव हुँदैछ। चुनावमा पुरूष समूह र अपांगता भएको व्यक्ति वा अल्पसंङ्ख्यक समूहको रिक्त २ स्थानमा राजपाका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने सहमति भएको छ।
त्यसैगरी, महिला र दलित पुरूष समूहका दुई स्थानमा राजपालाई नेकपाले सहयोग गर्ने सहमति भएको हो। सहमतिपत्रमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् भने राजपाका तर्फबाट राजेन्द्र महतोले हस्ताक्षर गरेका छन्।
त्यसैगरी, दुई पार्टीले राष्ट्रिय राजनीतिका विषयहरूमा नियमित छलफल गर्ने र सहकार्यको प्रक्रिया अघि बढाउने समेत सहमति भएको छ।
एक महिनाअगाडि मन्त्रिपरिषद पुनर्गठनक्रममा प्रधानमन्त्री केपी ओलीले समाजवादीतर्फबाट स्वास्थ्यमन्त्री रहेका उपेन्द्र यादवलाई कानुन मन्त्रालयमा पठाएका थिए। त्यतिबेला यादव भारत भ्रमणमा थिए। यादवलाई कानुनमा पठाएसँगै स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई प्रधानमन्त्रीले हटाएका थिए।
अहिले समाजवादीकातर्फबाट पार्टी अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री एवम् कानुनमन्त्री छन् भने मोहम्मद इस्तिहाक राई सहरी विकासमन्त्री छन्।
सरकार र सत्तारुढ दलसँग भएको सहमतिलाई राजपाका एक नेताले ‘आइस ब्रेक’ भनेका छन्।
‘हाम्रोबीचमा आइसब्रेक भएको छ। अब सहमतिको यात्रा सुरू हुने सम्भावना बढेको छ,’ ती नेताले भने, ‘अबका दिनमा सरकार र सरकारको नेतृत्व गरेको दलसँग हाम्रो सम्बन्ध थप बलियो हुनसक्छ।’