राजविराज । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले सेडको भाडा नतिर्ने चार उद्योग कब्जामा लिएको छ । अल नेप्लिज टी एन्ड कफी उद्योग, कृष्णा खाद्य उद्योग, भगवती कृषि सहकारी संस्था लिमिटेड र पदमा ज्योति प्लास्टिक उद्योग कार्यालयले कब्जा गरेको कार्यालय प्रमुख दीपकराज आचार्यले बताए ।
ती उद्योगबाट भाडाबापतको रू. २४ लाख ७१ हजार १३ बक्यौता असुल हुन बाँकी छ । अल नेप्लिजले रू. २ लाख ५७ हजार ३०१, कृष्णा खाद्यले रू. १० लाख ३९, पदमाज्योति प्लास्टिकले रू. ७ लाख ४८ हजार १५२ र भगवती कृषि सहकारीले रू. ४ लाख २६ हजार ५५१ बक्यौता तिर्न बाँकी रहेको आचार्यले जानकारी दिए ।
अल नेप्लिजले आवश्यक मेशिन र कच्चा पदार्थ नल्याई लामो समयदेखि सेडमा रासायनिक मल भण्डारण गरेर राखेका कारण उसको सम्झौता खारेज गरी उद्योग कब्जामा लिइएको कार्यालयले बताएको छ । उद्योग सञ्चालनका लागि पटकपटक पत्राचार गरे पनि व्यवस्थापन कार्यालयलाई बेवास्ता गरेपछि विभागमार्फत नै उद्योग कब्जा गर्नुपरेको आचार्यको भनाइ छ । अन्य तीन उद्योगले पनि सेडमा उद्योग सञ्चालन नगरी गोदामका रूपमा प्रयोग गरेको र लामो समयदेखि भाडा नतिरेकाले बाध्य भएर कब्जामा लिनुपरेको उनले बताए ।
कुल १० ओटा सेड रहेको औद्योगिक क्षेत्रभित्र हाल उषा जल उद्योग, कोशी पोलिमर्स, महालक्ष्मी पेट इन्टस्ट्रिज, मिलन डेरी उद्योग र कान्तिपुर प्लास्टिक उद्योग सञ्चालनमा छन् । औद्योगिक क्षेत्रभित्र थप चारओटा नयाँ उद्योग स्थापनाको पहल भइरहेको आचार्यले जानकारी दिए । भारत सरकारको सहयोगमा २०४४ सालमा स्थापित यो औद्योगिक क्षेत्र २०५१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । सप्तरी सदरमुकाम राजविराजबाट चार किलोमिटर उत्तरमा रहेको यो औद्योगिक क्षेत्र झन्डै २२ बिगाहा (२ सय ९४ रोपनी) क्षेत्रफलमा फैलिएको छ ।
१० ओटा उद्योग सञ्चालन गर्न सक्ने क्षमता रहेको यस औद्योगिक क्षेत्रमा बैंक भवन, हुलाक, स्वास्थ्य क्लिनिक भवन, चमेना गृह, गेस्ट हाउस, विद्युत्, टेलिफोन लगायत सम्पूर्ण सुविधा उपलब्ध गराउन सक्ने संरचना छ । तर, हाल कुनै पनि सुविधा सञ्चालनमा छैनन् ।