सिरहा। सिरहाको मिर्चैयामा रहेको स्वस्तिक पाठशालामा अध्ययनरत एक विद्यार्थीलाई गृहकार्य नगरेको भन्दै शिक्षकले हात भाँचिदिएका छन्।
कक्षा ६ मा अध्ययनरत सिरहा नगरपालिका–२ का १२ वर्षीय रितिक यादवको शिक्षकको कुटाईबाट हात भाँचिएको हो। यादवको आजै हातमा प्लास्टर गरिएको छ।
नेपाली विषयको गृहकार्य नगरेको भन्दै शिक्षक तारा कार्कीले कुटपिट गर्दा हात भाँचिएको विद्यार्थीका अभिभावकले बताएका छन्।
यादव ६ वर्षदेखि सोही पाठशालामा पढ्दै आएका थिए। रितिकका काका देवकुमार यादवले गृहकार्य नगरेको नाममा भौतिक आक्रमण गर्नु अपराध भन्दै दोषीलाई काराबाहीको माग गरे।
शिक्षकको कुटाईबाट विद्यार्थीको हात भाँचिएपछि अभिभावकले प्रहरीमा उजुरी दिएका छन्।
सिरहा प्रहरी प्रमुख उमाप्रसाद चुर्तुवेदीले घटनाबारे अभिभावकले जानकारी गराएको बताउँदै यस विषयमा आवश्यक अनुसन्धान थालिएको बताए।
यसअघि रुपन्देहीमा पनि गृहकार्य नगरेको भन्दै १६ पुसमा एक जना विद्यार्थी शिक्षकबाट कुटिएका थिए।
रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ मर्चवारमा ज्ञानदीप बोर्डिङ स्कुलमा कक्षा पाँचमा अध्ययनरत मोहम्मद देवान शिक्षकबाट कुटिएका थिए।
कुटपिट गरेको आरोपमा शिक्षक शैलेन्द्र बराई परेका थिए।
बालबालिका सम्बन्धी ऐन–२०७५ मा घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक र मानसिक दण्ड दिने, अनैतिक व्यवहार गर्नेलाई करीब एक वर्ष जेल सजाय र ५० हजार रूपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।