जाजरकोट जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर के.सी. ८ लाख घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका कर्मचारीले रंगेहात पक्राउ गरेका हुन् ।
प्रदेश विकास परिषद्को बैठक भाग लिन सुर्खेत आएका अध्यक्ष केसीलाई एक उपभोक्ता समितिको कामबाट ८ लाख घुस लिएको सूचना आधारमा पक्राउ गरिएको हो । अध्यक्षसँगै रहेका अर्का चन्द्रबहादुर बस्नेतलाई समेत अख्तियारले पक्राउ गरेको अख्तियारद्वारा जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
गाउँपालिकाका अध्यक्ष केसीले सोही गाउँपालिकाको वडा नम्बर ५ मा विभिन्न उपभोक्ता समितिमार्फत भएको सडक निर्माणको काम सम्पन्न भईसकेपछि पनि पेश गरेको प्रकृया अनुसार भुक्तानी नदिई घुस मागेको खुलेको छ ।
बिल रोक्न लगाएर घुस मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको आधारमा अख्तियारको टोलिले अध्यक्षमाथि निगरानी बढाएको थियो । सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको अध्यक्ष केसी र उनका सहयोगी बस्नेतलाई घुस लिइसकेको अवस्थामा सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका ७ कटकुवा हेल्थपोष्ट नजिकबाट रकम सहित पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।