About Contact
१३ माघ २०७७, मंगलबार
Close
बिज्ञापन
क्रसर डनको फर्मुला: राजनीतिक र प्रशासनिक शक्ति परिचालन

खोज केन्द्र मंगलबार, माघ ०७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश सरकारले अवैध रूपमा सञ्चालित क्रसरमाथि कडाइ सुरु गरेपछि व्यवसायीले त्यसविरुद्ध राजनीतिक शक्ति परिचालन गर्न थालेका छन् । अवैध क्रसर निरन्तर सञ्चालनका लागि उनीहरूले प्रदेश सरकारमाथि दबाब बढाउन लागेका हुन् ।

यसका लागि प्रदेश २ का व्यवसायीको तदर्थ समिति नै गठन गरिएको छ । समितिको नेतृत्व महोत्तरीका क्रसर सञ्चालक प्रह्लाद क्षत्रीले गरेका छन् । उनी कांग्रेसका तर्फबाट बर्दिबास नगरपालिकाको मेयर र प्रदेशसभामा उम्मेदवार थिए । उनको बर्दिबास र भंगाहामा क्रसर उद्योग छ । पार्टी संगठन र क्रसरको कमाइका आडमा सुरक्षा निकाय र जिल्लाका प्रमुखसम्म सहज पहुँच बनाएका क्षत्री महोत्तरीमा अवैध उत्खननको नेतृत्व गर्छन् ।

मिथिला नगरपालिकामा बेचन शर्मा बरहीले चुरे क्षेत्र दोहनमा आतंक नै मच्चाएका छ्न । नेकपाबाट जितहादिल गरेका मिथिलाका मेयर हरिनारायण महतो र प्रशासन सहितको सांठगांठमा शर्माले झन्डै आधा दर्जन क्रसर खोलेका छ्न ।

क्रसर व्यवसायी तदर्थ समितिको सल्लाहकारमा सर्लाहीका शम्भुलाल श्रेष्ठलाई राखिएको छ । कांग्रेस छाडेर तत्कालीन माओवादी केन्द्रमा प्रवेश गरी ०७० को संविधानसभा निर्वाचनमा निर्वाचित भएका श्रेष्ठ ०७४ मा माओवादीबाट टिकट नपाएपछि पुनः कांग्रेसमा फर्केका थिए । पूर्वऊर्जा र पशुपन्छी विकास राज्यमन्त्री भइसकेका उनको पूर्वपश्चिम राजमार्गको फुल्जोरबाट ईश्वरपुरतर्फ जाने बाटामा सागरनाथ वन विकास परियोजना नजिकै क्रसर उद्योग छ । श्रेष्ठ सर्लाहीमा पहुँचवाला क्रसर व्यवसायी मानिन्छन् ।

अन्य प्रदेशमा क्रसर व्यवसायीको छुट्टै समिति गठन भए पनि प्रदेश २ मा नभएकाले नियमित प्रक्रियाअन्तर्गत नै तदर्थ समिति गठन गरिएको अध्यक्ष क्षत्रीले बताए । ‘केन्द्रमा नेपाल क्रसर उद्योग तथा खानी व्यवस्था महासंघको प्रदेश कमिटी गठन गरेका छौं,’ उनले भने, ‘धनुषाको औरही खोलामा भएको युवकको हत्यासँग तदर्थ समितिको कुनै सम्बन्ध छैन । अधिवेशनअघि नै गठन गर्न लागिएको थियो तर युवक हत्याका कारणले ढिलो भयो ।’ प्रदेश २ सरकारको निर्देशनमा ८ वटै जिल्लामा प्रहरीले क्रसर उद्योग बन्द गराएपछि व्यवसायीको काम ठप्प रहेको उनले बताए । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योगलाई सरकारले अवैध भन्न नमिल्ने उनले बताए । ‘क्रसरको लाइसेन्स लिएर सरकारलाई राजस्व बुझाउने उद्योग कसरी अवैध हुन्छ ?’ उनले प्रश्न गरे ।

प्रदेश २ मा सञ्चालित धेरैजसो अवैध क्रसरमा दलका नेता, सांसद र जनप्रतिनिधिहरूको लगानी छ । धनुषाको मिथिला–३ मा कमल निर्माण सेवाले क्रसरको उपकरण र संरचनासहितको पूर्वाधार बनाएर सञ्चालन तयारी गरेको छ तर यसको कतै दर्ता छैन, इजाजत पनि लिएको छैन ।

उक्त क्रसर उद्योग प्रदेश २ का नेकपा सांसद किशोरी साहको हो । उक्त क्रसरले इजाजत नलिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । निर्माण व्यवसायीबाट राजनीतिमा प्रवेश गरेका सांसद साह नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल निकट मानिन्छन् ।

महोतरी क्षेत्र १ (ख) बाट निर्वाचित नेकपाका प्रदेश सांसद भरतप्रसाद साहको पनि क्रसर उद्योगमा लगानी रहेको पार्टीका नेताहरू बताउँछन् । गौशाला नगरपालिका–१२ स्थित बाँके नदीमा सञ्चालन भइरहेको लक्ष्मिनिया माई क्रसर उद्योगमा साहको लगानी भए पनि कागजात उनका नाममा छैन । गौशाला रजखोरका विन्देश्वर साहका नाममा रहेको क्रसरले बाँके नदीमा सांसद साहकै संरक्षणमा अवैध उत्खनन गर्ने गरेको स्थानीय बताउँछन् । बाँके नदीमै समर लामाका नाममा सञ्चालित क्रसरमा नेकपाका अर्का नेता विष्णु लामाको लगानी छ । दुवै जनाले क्रसरमा लगानी गरे पनि नाम नराखेको जिल्ला तहका नेता बताउँछन् ।

महोत्तरीका प्रदेश सांसद साहले क्रसरमा आफ्नो लगानी नरहेको दाबी गरे । ‘मेरो कुनै क्रसरमा लगानी छैन, क्रसरले मापदण्डविपरीत उत्खनन गर्नु गलत हो,’ सांसद साहले भने ।

जिल्ला समन्वय समिति महोतरीका अध्यक्ष सुरेशप्रसाद सिंहले राजनीतिक संलग्नता बढी भएका कारण क्रसर सञ्चालनको मापदण्ड कार्यान्वय गराउन चुनौती भएको बताए । ‘राज्यको अवस्था र राजनीतिक संलग्नताका कारण क्रसर उद्योगको अवैध उत्खनन गरिरहेका छन्,’ उनले भने, ‘मापदण्ड पूरा नगरेका कारण जिल्ला अनुगमन समितिले बन्द गराएको उद्योग पनि राजनीतिक आडमा सञ्चालन भइरहेको छ ।’ महोत्तरीको भंगाहास्थित रातु नदीमा राजनीतिक आडमा अनुमतिबिनै क्रसर सञ्चालन भइरहेको उनले बताए । उनका अनुसार त्यहाँ बालुवा प्रशोधन उद्योग दर्ता गरी क्रसर उद्योग सञ्चालन गरिएको छ । मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका अवैध क्रसर बन्द गर्न प्रक्रिया अगाडि बढाइएको सिंहले बताए ।

प्रदेश २ को प्राकृतिक स्रोत तथा वातावरण संसदीय समिति सभापति रामचन्द्र मण्डल स्थानीय तहका जनप्रतिनधि मुनाफातर्फ लागेपछि प्राकृतिक स्रोतको दोहन बढेको बताउँछन् । ‘धनुषामा मेयर आफ्नै एक्स्काभेटर लगाएर अवैध उत्खनन गर्छन्,’ मण्डलले भने, ‘नदीजन्य पदार्थको उत्खनन गरी व्यापार गरिरहेका जनप्रतनिधिबाट प्राकृतिक स्रोतको संरक्षण र संवर्द्धन सम्भव छैन । राजनीतिक आवरणमा क्रसरको व्यापार भएकाले नदीमा अवैध उत्खनन फस्टाएको छ ।’ धनुषाको औरही खोलामा अवैध उत्खननको विरोध गर्दा क्रसर व्यवसायीले दिलीप महतोलाई टिपरले किचेर हत्या गरेपछि क्रसरमाथि निगरानी बढाइएको छ ।

प्रदेश २ का ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै अवैध क्रसर बन्द गर्न प्रदेश सरकारले निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला अनुगमन समिति, जिल्ला प्रहरी र घरेलु तथा साना उद्योग कार्यालयले क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगमाथि कडाइ गरेपछि क्रसर व्यवसायीले आन्दोलन घोषणा गरिसकेका छन् ।

सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका क्रसर व्यवसायीले प्रदेश सरकारले क्रसर उद्योग सञ्चालनमा रोक लगाएको विरोधमा मुख्यमन्त्री कार्यालयका सचिव शंकरप्रसाद सुवेदीलाई ज्ञापनपत्र बुझाएका छन् । प्रदेश २ सरकारले कानुनविपरीत तथा कानुनी प्रक्रिया निर्धारण नगरी हचुवाको भरमा उद्योग सञ्चालनमा रोक लगाएको व्यवसायीको आरोप छ । व्यवसायीका तर्फबाट महासंघका उपाध्यक्ष सीताराम न्यौपानेले ज्ञापनपत्र बुझाउँदै कच्चा पदार्थ संकलन, उत्पादन र बेचबिखनमा समस्या भएको बताए ।

प्रदेश २ मा क्रसर अनुगमन र मापदण्ड कार्यान्वयन गराउने निकायलाई मिलाउन भन्दै क्रसर व्यवसायीले मिलेर ६५ लाख रुपैयाँ संकलन गरेका छन् । क्रसर बन्द हुने अवस्था आएपछि व्यवसायी एकजुट भएर क्षमताअनुसार संकलन गरेको रकम प्रदेश तदर्थ समितिलाई जिम्मा लगाइएको छ । सरकारी निकाय र सम्बन्धित व्यक्तिलाई मिलाउन क्रसर सञ्चालकहरूबाट रकम संकलन गरिएको एक क्रसर व्यवसायीको दाबी छ ।

सम्बन्धित

ताजा अपडेट
धनुषाको शहीदनगरका मेयरको भाइले कुटे इन्जिनियर, कमिशन बिबाद
रौतहट: नयाँ घर बनाउने सपना बोकी विदेश गएका कुर्मीको जब फर्कियो
धनुषाको बिदेह नगरपालिकामा झुलुङे पुल निर्माण

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]