उतिबेला उच्च चर्चामा रहेको यस हत्याको घट्नामा रौतहटका स्थानीय (तत्कालिन) माओवादी नेता सियाराम कुशवाहालाई उनका सहयोगी अमनप्रसाद कुशवाहाको बयानको आधारमा २०६८ भदौ २२ मा प्रहरीले पक्राउ गरेको थियो।

अमनकै वयानका आधारमा (तत्कालिन) माओवादीका नेता प्रभु साहमाथि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। नेता प्रभु साह उपर मुद्दा दर्ता गरेको भनी मिडियाले तत्कालीन एसपी रमेश खरेलको नामको महिमा मण्डन गरेको थियो।

तर, कस्तोसम्म भयो भने वीरगन्जमैं घण्टाघरमा तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहालको प्रमुख आतिथ्यमा कार्यक्रम भयो, प्रभु साहले अतिथीको आसन ग्रहण गरे, सिंगै प्रहरी संगठन निरिह बन्यो। साहउपर मुद्दा चलाएको जिल्ला प्रहरी पर्साको टोलीले त्यहाँ सुरक्षा प्रदान गरेको थियो।

साहलाई ‘अभयदान’ दिनैका लागि घण्टाघर चोकमा उक्त चियापान आयोजित गरिएको स्थानीयले सहजै बुझे। तत्कालिन एसपी रमेश खरेलको महिमामण्डन गरेको मिडिया भने बुझ पचाएर बसे। कथित हाइप्रोफाइल ब्यक्तिका मुद्दामा जसरी प्रहरीले मुद्दाहरु बढाएको छ, त्यो हेर्दा अब भने राजनीतिक अभयदानको अवस्था समाप्त भएको छ।

यसबाट कानूनी शासन किताबबाट निस्केर ब्यवहारमा लागु हुन पुगेको आम मानिसले अनुभुति गरेका छन्। प्रहरी महानीरिक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीको नेतृत्व सम्हालेपछि करिब २० महिनामा अपराध आरोपी कथित ठुला ब्यक्तिदेखि प्रहरीलाई झुक्याउदै आएका अरु आरोपीसम्म एकपछि अर्को गरी धमाधम पक्राउ परेका छन्।

नेपालमा अपराध गरेर कैयनजना विदेशतिर लुकिछिपी बस्ने गरेका छन्। भागेर विदेश पुगेकाहरुलाई पक्राउ गरेर ल्याउन नेपाल प्रहरी सफल भएको छ। हेटौडामा किशोरीमाथी एसिड प्रहार गरी फरार रहेका आरोपीलाई ६ बर्षपछि दिल्लीबाट प्रहरीले समातेर ल्याएको छ।

समाजमा हुने अपराधका घट्ना मात्र होइन राज्यमा कानुनले बन्देज गरेका गतिविधीमा संलग्न भएका गम्भीर प्रकृतिका अपराधका आरोपी अब देशमा वा बिदेशमा कानुनबाट बँचेर बस्ने अवस्थालाई नेपाल प्रहरीले चिरेको छ।

यो एउटा सफल नेतृत्वले नै सम्भव भएको हो। विभिन्न अपराधमा संलग्न भई फरार रहेकाहरुको खोजीका लागि इन्टरपोलमार्फत झण्डै ७० वटा नोटिस जारी गरिएको छ। जसका कारण स्वदेशमा रहेकाहरुमात्र होइन, भागेर विदेश पुगेका अपराधीहरु उपर समेत कानुनको अंकुश लाग्ने भएको छ।

कथित ‘भीआईपी’हरु पनि त्यसै गरी पक्राउ परेका छन्। तत्कालीन अवस्थामा बहालवाला सभामुख कृष्णबहादुर महरादेखि पूर्वमन्त्री आफताब आलमसम्मलाई प्रहरीले पक्राउ गरेको छ। राजनीतिक र अन्य प्रकारको दवाव चिर्दै कानुन कार्यान्वयनमा प्रहरी संगठन सकृय रहेको देखिन्छ।

गृहमन्त्रीका भाई नरेश थापामगरसम्मलाई हतकडी लगाउन प्रहरी सफल भएको छ। ‘सानालाई ऐन, ठुलालाई चैन’ भन्ने उखान नै मसहुर रहेको देशमा जनताले यो अवस्था देख्न पाउनु भनेको एउटा महत्वपुर्ण परिवर्तन हो।

एकाध घट्नाका भरमा सतही टिप्पणी कतिपयले गर्छन। मानिसहरुले आफ्नो, बुझाई, प्रेरणा र ज्ञान अनुसार गरेका टिप्पणीको धरातल हुदैन। तथ्यांकले भने प्रहरी संगठनको उत्तम कार्यसम्पादन र सफल नेतृत्वको बलियो धरातल प्रस्तुत गरेको छ। डेढबर्षको अवधिमा नेपाल प्रहरीले अपराध अनुसन्धानमा महत्वपूर्ण उपलब्धी हासिल गरेको छ।

यस अवधिमा झण्डै ५४ हजार प्रतिवादी पक्राउ गरेर प्रहरीले ५५ हजार ३ सय भन्दा बढी मुद्दा दर्ता गरेको छ। यस अवधिमा १ सय ४५ किलो सुन बरामद गर्नुका साथै सुन तस्करीमा संलग्न १ सय १६ जनालाई पक्राउ गरेको छ।

राजस्व चुहावट नियन्त्रणका क्रममा प्रहरी ५ सय ७७ जनालाई पक्राउ गरेको छ। राजस्व चुहावट नियन्त्रणबाट सरकारको ढुकुटीमा १ सय ३ करोड रुपैया योगदान भएको छ। अवैध सुन बरामद र भन्सार छली बरामदबाट कुल राजस्व योगदान २ सय ९२ करोडको भएको छ।

लागुऔषध नियन्त्रणमा पनि प्रहरीले राम्रो सफलता पाएको छ। यहाँ समिक्षा गरिएको यसै अवधिमा १२ हजार ४ सय ८१ किलो चरेस, २ हजार ९ सय ६६ किलो, हेरोइन र कोकिन १४ किलो, अफिम ६३ किलो प्रहरीले बरामद गरेको छ। लागु औषध कारोबार तथा ओसारपसारमा संलग्न ६ हजार ९ सय ७१ जनालाई पक्राउ समेत गरेको छ।

त्यस्तै अवैध हतियार नियन्त्रणमा प्रहरीले महत्वपुर्ण उपलब्धी हासिल गरेको छ। ३ सय ६३ थान बिभिन्न किसिमा हतियार (बन्दुक) र १ हजार ३ सय ८४ राउण्ड गोली बरामद प्रहरीले गरेको छ। संगसंगै ४ सय २३ जना संलग्नलाई पक्राउ सिमेत गरेको छ। द्वन्दउप्रान्तको समाजको निशस्त्रिकरणमा यसले योगदान पुग्ने मात्र होइन समाजमा कैयन अपराध हुनबाट पनि जोगिएको छ।

समुदाय र प्रहरीविच सहकार्यको क्षेत्रमा पनि महत्वपुर्ण उपलब्धी हासिल भएको छ। प्रहरी महानीरिक्षक सर्वेन्द्र खनालको कार्यकालमा ‘समुदाय प्रहरी साझेदारीको अवधारणा’ एउटा महत्वपूर्ण कदम हो। २०७५ कार्तिक ११ गते यस कार्यक्रमको शुभारम्भ भइ देशभर कार्यक्रम संचालन भइरहेको छ। अरु देशका प्रहरी संगठनका लागि समेत यो अनुकरणीय छ।

देशका ७ सय ५३ वटा स्थानीय तहसँग यसको लागि समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ। विभिन्न जन चेतनामूलक कार्यक्रमहरूका माध्यमले समाजको उत्थानमा यसले महत्वपुर्ण योगदान गरिरहेको छ। दाइजो प्रथा, बाल विवाह, यौन अपराध, बालश्रम शोषण, साइबर अपराध, मानव बेचबिखन, घरेलु हिंसा लगायतका अपराध न्युनिकरणमा यसले मद्दत मिल्ने देखिन्छ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय निकाय, नेपाल प्रहरी, सामाजिक संघसंस्थाको सकृयतामा मुलुकका बिभिन्न स्थानहरुमा सीसीटीभी क्यामरा जडान गरी सञ्चालनमा आएको छ। समुदाय प्रहरी साझेदारीका विभिन्न कार्यक्रमहरू मार्फत प्रहरीले ८१ लाख, ३८ हजार ८५८ जना नागरिकहरूसँग अन्तरक्रिया गरेको छ।

विशिष्ठ अवसरहरुमा सुरक्षा ब्यवस्था दुरुस्त बनाई राख्न प्रहरी सफल भएको छ। गतबर्षको भदौमा भएको बिमस्टेक सम्मेलन, त्यसपछि मंसिरमा सम्पन्न एशिया प्यासेफिक सम्मेलन, चैतमा सम्पन्न लगानी सम्मेलन, असोजमा सम्पन्न एसियाकै पहिलो प्रहरी सम्मेलन, त्यसपछि चीन र बंगालादेशका राष्ट्रपतिको भ्रमण र ‘साग’ खेलकुद प्रतियोगिता विना कुनै सुरक्षा खतरा सम्पन्न हुनुले क्षेत्रीय र अन्तराष्ट्रिय स्तरमा नेपालको सुरक्षा छविमा उल्लेखनीय भएको छ।

आन्तरिक रुपमा पनि प्रहरी संगठन चुस्त दुरुस्त भएको देखिएको छ। लामो समयदेखी अवरुद्ध रहेको बढुवालाई सुचारु गर्ने, राम्रो गर्नेलाई पुरस्कार दिने र अनुसाशन भंग गर्नेलाई कारवाही गर्ने काम भएको छ।

नेपाल प्रहरीसँग भएका तथ्यांक र विवरणहरु विद्युतीय रुपमा डाटावेशमा राख्ने काम निकै चुनौतीपूर्ण रहदै आए पनि यसमा उपलब्धी हासिल भएको छ। नेपाल प्रहरी बेरुजु फर्छयौटमा भने सर्वोत्कृष्ट नै भएको छ। आर्थिक बर्ष ७३ ७४ मा महालेखा परीक्षकको कार्यालयबाट नेपाल प्रहरीका विभिन्न कार्यालयका नाममा साढे ६८ करोड बेरुजु थियो।