About Contact
०४ माघ २०७७, आइतबार
Close
बिज्ञापन
सुनसरी–मोरङ औद्योगिक कोरिडोरका ५०० उद्योगलाई श्रमिकको अभाव

खोज केन्द्र सोमबार, माघ ०६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

विराटनगर । युवा जनशक्ति स्थानीय उद्योगमा काम गर्नुभन्दा वैदेशिक रोजगारीमा आकर्षित हुन थालेपछि सुनसरी–मोरङ औद्योगिक कोरिडोरका करीब ५०० उद्योगलाई दक्ष र अदक्ष गरी १० हजार श्रमिकको अभाव रहेको छ ।

पछिल्लो समय वैदेशिक रोजगारमा युवा आकर्षण अझ बढ्दै गएपछि उद्योगलाई मजदूर अभाव गहिरिँदै गएको हो । पहिले उद्योगको गेटमा जागीर खोज्न युवाहरू दिनहुँ आउँथे तर अहिले उद्योग नै मजदूर खोज्न गाउँ पस्न थालेका छन् ।

विद्युत् आपूर्तिमा सुधार र मजदूर हडतालबाट मुक्त भएका उद्योगहरूलाई उत्पादनमूलक जनशक्ति वैदेशिक रोजगारीतर्फ आकर्षित हँुदा मजदूर अभाव नयाँ संकटका रूपमा देखापरेको छ । सानाठूला गरी ५०० उद्योग रहेको सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा अहिले प्रत्यक्ष रूपमा ५० हजार मजदूर कार्यरत छन् ।

यस कोरिडोरमा रहेका उद्योगलाई अहिले २० देखि २५ प्रतिशत थप श्रमिकको आवश्यकता रहेको यहाँका उद्यमीहरू बताउँछन् ।

दुहबी नगरपालिकाको सोनापुरमा रहेको अरिहन्त मल्टिफाइबर्समा प्रत्येक दिन २०० मजदूरको अभाव हुन्छ । भएका मजदूरमा पनि ‘वर्क कल्चर’ नहुँदा दैनिक ५ टन उत्पादन प्रभावित हुँदै आएको सो उद्योगका प्रमुख कार्यकारी अधिकृत गोविन्द बजगाईं बताउँछन् ।

उनका अनुसार पहिले उद्योगको गेटमा दैनिक २५ देखि ५० मजदूर काम खोज्दै आउँथे तर अहिले त्यो संख्या न्यून छ । ‘उल्टै उद्योगले गाउँसम्म सवारीसाधनको सुविधा दिएर मजदूर लिएर आउने र काम गरिसकेपछि पुर्‍याउने व्यवस्था गर्न थालेको छ, तैपनि मजदूरको अभाव भने टर्न सकेको छैन,’ बजगाईंले बताए ।

उद्योगमा स्थायी भएर काम गर्दै आएका मजदूर जागीर छाडेर वैदेशिक रोजगारीमा जाने क्रम केही कम भए पनि नरोकिएको बजगार्इं बताउँछन् । पहिले मासिक ५ जना स्थायीले जागीर छाड्थे भने अहिले दुई जनामा झरेको उनले बताए । अरिहन्तमा ४ हजार ६०० मजदूर कार्यरत छन् ।

पछिल्लो समय उद्योगले दिने पारिश्रमिक र मलेशियालगायत देशमा रोजगारी बन्द भएपछि उद्योगमा मजदूर आउने क्रममा सामान्य सुधार भएको उनले बताए । अहिले अरिहन्तमा २ हजार २०० महिला मजदूर तीनओटै सिप्mटमा काम गरिरहेका छन् । उद्योगले महिलाका लागि छुट्टै जोन बनाएर काम लगाइरहेको छ ।

सुनसरीकै खनारमा रहेको रिलायन्स स्पीनिङ मिलमा दैनिक ४ हजार मजदूर काम गर्छन् । तैपनि उद्योगलाई दक्ष जनशक्तिको अभाव रहेको यसका डेपुटी भाइस प्रेसिडेन्ट महेश पोखरेलको भनाइ छ । युवाहरू वैदेशिक रोजगारीमा जान थालेपछि महिला कामदारलाई उद्योगले प्रोत्साहन र सुरक्षा दिई काम लगाइरहेको उनले बताए ।

उनका अनुसार अहिले तीनओटै सिप्mटमा रिलायन्समा १ हजार ६०० महिला कामदार काम गरिरहेका छन् । मलेशियाको रोजागरी बन्द भएपछि मजदूरको अभाव केही घटे पनि अहिले पुनः पुरानै समस्या दोहोरिन थालेको पोखरेलले बताए ।

विराटनगर महानगरपालिकामा रहेको रघुपति जूट मिलका प्रबन्धक श्याम आचार्य दैनिक रूपमा २०० कामदारको अभाव रहेको बताउँछन् । एक सिफ्टमा ७५ जना मजदूरको अभाव हुने गरेको छ ।

यस उद्योगमा २ हजार ५०० मजदूर कार्यरत छन् । नयाँ श्रम ऐनले मजदूरलाई मासिक १३ हजार ४०० रुपैयाँ प्रारम्भिक तलब दिन थालेपछि भने पहिलेको तुलनामा जागीर छाडेर हिँड्ने मजदूरको संख्यामा केही कमी आएको उनले बताए । आचार्यका अनुसार अहिले पुरुष कामदारको अभाव पूर्ति गर्न महिला कामदार राख्न थालिएको छ । रघुपतिमा अहिले ६०० महिला मजदूर कार्यरत छन् ।

पुरुष वैदेशिक रोजगारीमा जान थालेपछि महिलामैत्री उद्योगको अवधारणा ल्याएर महिलालाई कामको अवसर दिन थालिएको आचार्यको भनाइ छ ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे उद्योगमा काम गर्दागर्दै दक्ष भइसकेका मजदूर वैदेशिक रोजगारीका लागि एक्कासि हिँडिदिनाले उद्योगहरूमा जहिले पनि दक्ष जनशक्तिको अभाव रहने गरेको बताउँछन् । उनका अनुसार खेतीपाती र चाडपर्वका बेला अदक्ष जनशक्तिको समेत उद्योगहरूलाई अभाव हुने गरेको छ ।

अरू बेला पुगनपुग उद्योग तीन सिफ्टै चले पनि खेतीपाती र तराईवासीका स्थानीय चाडपर्वको बेला भने उद्योगलाई सबै सिफ्ट चलाउन मुश्किल हुँदै गएको उद्योगीहरू बताउँछन् ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा स्थिर किसिमको मजदूर नभएका कारण उद्योगहरूले जहिले पनि मजदूर समस्यासँग जुधिरहनु परेको बताए । दक्ष जनशक्ति बनाउन उद्योगले नै तालीम दिएर सिकाएर महीनौं लगाएर एउटालाई दक्ष बनायो त्यही दक्ष मजदूर वैदेशिक रोजगारीमा हिँडिदिनाले उद्योगमा जहिले पनि मजदूरको अभाव रहिरहेको उनले बताए ।

श्रम तथा जनशक्ति विज्ञ डा. मोहनचन्द्र घिमिरे नेपालमै पछिल्लो समय औपचारिक क्षेत्रमा श्रमिकको तलब÷सुविधा बढ्दै जाँदा रोजगारीकै लागि मलेशिया र खाडीका मुलुक जानुपर्ने बाध्यता कम हुँदै गएको बताउँछन् ।

पछिल्लो समय उद्योग छिर्ने बित्तिकै एउटा मजदूरले १३ हजार ४०० रुपैयाँ मासिक तलब पाउने गरेको छ । त्यसमाथि ओभर टाइम काम गर्नेले मासिक २५ हजारसम्म कमाउँछन् शुरूबाटै । ‘तर, त्यत्तिनै रकम कमाउन ‘थ्रीडी’ अर्थात् डर्टी, डिफिकल्ट र डेन्जर काम गर्न खाडी जाने क्रम रोकिएको छैन,’ घिमिरेले भने ।

उनका अनुसार वैदेशिक रोजगार समाजको एउटा संस्कार बन्दै छ यसलाई तोड्न र युवालाई सचेत बनाउन आवश्यक छ । ‘मलेशिया र खाडी मुलुकमा पाइने जति पारिश्रमिक यहीँ नै पाइँदै छ भनेर युवाको चेतसम्म पु¥याउन राज्य नै लाग्नुपर्ने आवश्यकता रहेको छ,’ उनले बताए ।

उद्योगलाई चाहिने दक्ष कामदार नपाएर उद्योगी पीडित भएको अवस्था एकातिर रहेको छ भने उद्योगलाई चाहिनेभन्दा फरक विषयमा दक्ष भएर काम नपाएर बसेको जनशक्ति अर्काेतिर रहेको उनको भनाइ छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]