लहान- डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश बलिदानी दिवसको अवसरमा सहिद परिवारलाई सम्मान गरेको छ।
सिरहाको सोनबरसामा आयोजित बलिदानी सभामा डा.राउतले प्रथम मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोका पिता र सहिद प्रमोद सादाको पितालाई सम्मान गरेका हुन्।
२०६४ माघ ५ गते प्रथम मधेश आन्दोलनको क्रममा सिरहाको लाहानमा रमेश महतोको हत्या भएको थियो। त्यसपछि आन्दोलन चर्किएको थियो।
सोही दिनको सम्झनामा मधेशमा बलिदानी दिवस मनाइँदै आएको छ।
आइतबार सोनबरसामा आयोजित सभामा सहिद परिवकारका सदस्यहरुले राजपा र समाजवादी पार्टीप्रति आक्रोस व्यक्त गरेका छन्।
प्रदेशमा सरकार हुँदा हुँदै पनि सहिद परिवारलाई वास्ता नगरेको र राजपा र समाजवादीले सहिद परिवारलाई दिने भनी घोषणा गरेको ५० लाख पनि नदिएको भन्दै सहिद परिवारले आक्रोश व्यक्त गरे।