माघ ४, बारा । बारा र रौतहटका उखु किसानले सरकारबाट पाउनु पर्ने अनुदान समेत नपाएको गुनासो गरेका छन् । तीन वर्ष अघि उखु विक्री गरेका किसानले सरकारबाट पाउनु पर्ने रू. १ करोड ४४ लाख ३४ हजार ६७३ अझै पाएका छैनन् ।
नगरपालिकाले कोष तथा लेखा नियन्त्रण कार्यालयमा (कोलेनिका) सर्लाहीमा समयमा नै अभिलेख नपठाउँदा किसानको अनुदान रोकिएको छ । कति परिमाणमा उखु विक्री गरेको हो भन्ने अभिलेख प्रमाणित गरेर पठाउन ढिलो भएकाले अनुदान रकम निकासा नभएको हो ।
आर्थिक वर्ष २०७४/ ०७५ मा २ लाख २० हजार १७५ क्विन्टल उखु विक्री गरेका बाराको निजगढ नगरपालिकाका ६३ जना, रौतहटको फतुवा विजयपुर ३०० र चन्द्रपुर नगरपालिका ९३ जना किसानले अनुदान रकम अझै नपाएको निजगढका किसान दिपक शिवाकोटीले बताए ।
किसानले सलार्हीको हरिवनस्थित ईन्दु शंकर चिनिमिललाई प्रति क्विन्टल रू.५३६ पैसा ५६मा उखु विक्री गरेका थिए । उद्योगबाट पाउनुपर्ने रू.४७१ पाएपनि थप अनुदानका रुपमा प्रतिक्विन्टल रू. ६५ पैसा ५६ तीन वर्ष वितिसक्दा समेत नपाएका हुन् ।
पटक–पटक पहल
तत्कालिन उद्योग वाणिज्य मन्त्री मातृका यादबले उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गर्ने तयारी गरेपछि निजगढका किसानकातर्फबाट नेकपाका नेता रविराज दंगालले ज्ञापन पत्र बुझाएका थिए ।
किसानले उद्योगमा पुगेर अनुदान रकम माग गर्दैै निवेदन दिएका थिए । उद्योगका क्यान म्यानेजर योगनारायण रजकले उद्योगले समयमै अभिलेख कोष तथा लेखा नियन्त्रण कार्यालयलाई पठाएपनि स्थानीय तहले ढिलो गर्दा अनुदान रकम पाउन नसकेको बताएको थियो ।
उद्योगका सञ्चालक राजेश केडिया हुन् । उद्योगीले भुक्तानी नदिएपछि देशका विभिन्न ठाउँका किसान आन्दोलनमा उत्रिएका थिए ।