जनकपुरधाम । जनकपुरधाम विमानस्थलबाट माघ ६ गतेदेखि रात्रीकालीन विमान चलाइने तयारी भइरहेकोे छ ।
आवश्यक सम्पूर्ण तयारी पुराभएपछि पहिलो र दोस्रो चरणको टेस्ट सम्पन्न भएकाले माघ ६ गतेदेखि प्रत्येक राती बुद्ध एयर जनकपुरधाम आउने बुद्ध एयर जनकपुरधामका प्रमुख विजय सिंहले जानकारी दिएका छन । सिंहका अनुसार रात्रिकालीन उड़ानको लागि बिभिन्न चरणमा टेस्ट हुने गर्छ त्यसको प्रक्रिया सम्पन्न भइसकेको छ ।
जनकपुरधाम विमानस्थलमा बुद्ध एयरको विमान जेठ महिनामा पहिलो टेष्टीगंको रुपमा अवतरण गरेको थियो भने दोस्रो टेष्टीगं यसैसाता गरिएको छ । यस अघि नै रात्रीकालीन सेवा सुरु गर्न आवश्यक रहेको ‘रनवे लाइट’ र ‘आइएफआर’ जडान भएर जाँचसमेत भइसेको छ ।
रात्रीकालीन सेवाका लागि अन्य प्राविधिक कार्यहरु यसअघि नै पुरा भइसकेपनि वरिपरि रहेका रुखहरु समस्याको रुपमा देखिएको थियो । बाधक बनेको रुखहरु पनि काटेर हटाइएको छ । विमानस्थल वरिपरि अग्ला देखिने प्रजातीका झण्डै चार सय रुख काटिएको छ ।
रात्रीकालीन सेवा सुरु हुँदा सानोतिनो काम भएकाहरु सोहिदिन काम गरेर फर्कन सक्ने जनकपुरधामका व्यवसायीहरु बताउँछन् । व्यवसायका दृष्टिले महत्वपूर्ण कार्य भएको चेम्बर अफ कमर्स प्रदेश २ का अध्यक्ष पवनकुमार ठाकुरले बताए ।